धनञ्जय गोत्र: एक सांस्कृतिक र ऐतिहासिक अध्ययन
उनीहरू को हुन्?
धनञ्जय गोत्रका मानिसहरू वैदिक सनातन धर्म परम्पराका अनुयायी हुन्। उनीहरूको पुर्खाहरू प्राचीन मन्त्रद्रष्टा ऋषिहरू थिए र उनीहरू आफूलाई त्यसै वंशको सन्तान मान्छन्।
तर नयाँ पुस्तामा स्थिति आज यस्तो बनेको छ कि कसैले गोत्र सोध्दा भन्न सक्लान् - "धनञ्जय" (सायद केहीलाई त्यो पनि गाह्रो होला)
तर "धनञ्जय भनेको के हो नि?" भन्ने पुरक प्रश्न आएमा धेरैको जवाफ हुनेछ - "त्यो त थाह भएन!"
पहिचानको खोज
धार्मिक होस् वा आधुनिक भौतिकतामा डुबेको मान्छे, सबैको मनको एउटा कुनामा आफ्नो जन्मस्थान, देश, राष्ट्रियता, भाषा, धर्म, वर्ण, जाति, गोत्र, प्रवर, चाडपर्व र रीतिस्थिति सम्बन्धमा एउटा खास अनुराग हुन्छ। आखिर यिनै कुराहरू नै व्यक्तिको पहिचान पनि हुन्। आफूलाई सही मानेमा चिन्न, आफ्नो परम्परासँग जोडिन, त्यसप्रतिको अपनत्व लिन र बन्धुत्वको यसै नातालाई थप विस्तार गर्दै बृहत्तर सामाजिक हित र कल्याणका लागि सबैमा धेरथोर त्यसप्रति चासो, जिज्ञासा र कौतुहल हुन्छ र यसो हुनु स्वाभाविक मात्र होइन उचित र आवश्यक पनि हो। तर यत्ति हो, यस्तो पहिचान गौरवानुभूतिका लागि मात्र हुनुपर्छ र त्यो भिन्न समुदायप्रति घृणा र अवहेलनाको साधन कहिल्यै बन्नु हुँदैन।
गोत्र प्रणालीको उत्पत्ति
वैदिक सभ्यताको सुरुआत अर्थात् सनातन धर्म परम्पराको थालनी देखि नै ब्राह्मण समुदाय विभिन्न ऋषिहरूको अध्ययन, शोध, अभ्यास, साधना र धर्माचरणको मार्गबाट दीक्षित हुँदै गए। समयक्रममा ती महान ऋषिहरूकै नामबाट उनीहरूको कुल वंशको पहिचान बन्यो। यही कुल खलक चिनारीलाई गोत्र भनियो।
धनञ्जय गोत्रको प्रारम्भ
पौराणिक वर्णन अनुसार, ७ ऋषि मध्येका र अन्य स्रोतबाट जन्मिएका समेत थपी कश्यप, अत्रि, विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम र वशिष्ठ समेतका सबैभन्दा महान सप्तर्षिहरू र आठौं ऋषि अगस्त्यबाट सुरुमा गोत्र परम्पराको थालनी भयो। यी सबै ८ ऋषिलाई वैदिक साहित्यमा अत्यन्त सम्मानित स्थान दिइएको छ।
सामान्यतया गोत्रहरू ४९ मात्र छन् भनेर सुनिँदै आएको छ। तर समस्त आर्यावर्त (भारतीय उपमहाद्वीप) भरिमा सुरुका ८ गोत्रबाट १०-२० हुँदै मूल १०८ र साना शाखा ७ समेत जोड्दा ऋषिकुलबाट हालसम्म ११५ वटा सम्म गोत्र कायम भएको देखिन्छ।
धनञ्जय गोत्र वैदिक ऋषि परम्पराभित्र ती विभिन्न गोत्रहरू मध्येको कान्यकुब्ज त्रीप्रवर ब्राह्मणहरूको एउटा गोत्र हो, जसले आदिग्रन्थ वेद, हिन्दू पद्धतिका सोह्र संस्कार, चार पुरुषार्थ, चार आश्रम र वर्ण व्यवस्थालाई मान्दछ। यस गोत्रका गोत्र ऋषि र प्रवर ऋषिहरू मध्येका राजर्षि विश्वामित्र मात्र होइन, धनञ्जय पनि स्वयंमा एउटा मन्त्रद्रष्टा महान ऋषि थिए।
"धनञ्जय" शब्दको अर्थ
परम्परागत व्याख्या अनुसार:
"जन्म, मृत्यु, सुख, दुख, क्षुधा, तृष्णा इति धन उच्यते!"
अर्थात् जसले जन्म, मृत्यु, सुख, दुख, भोक, प्यास आदि दैहिक अवस्थाबाट माथि उठेर आध्यात्मिक ज्ञान प्राप्त गरेको छ, उनी नै धनञ्जय हो। शब्दार्थ केलाउने हो भने जसले माथि बताइएका सबैखाले धनमाथि जय गर्यो अर्थात् जित्यो, उही धनञ्जय हो।
आदि (प्रथम) कुलदेवता
वराहपुराणको कथा अनुसार सृष्टि आरम्भ गर्दा हिरण्यकश्यपको भाइ हिरण्याक्ष नामको दानवले पृथ्वीलाई लगेर समुद्रको पिँधमा रसातल पातालमा लुकाई राखेको थियो। यसपछि विष्णु पृथ्वीको उद्धार गर्नका लागि आदि वराहको अवतारमा आए र भयङ्कर युद्धगरी उसलाई मारेर पृथ्वीलाई समुद्रबाट बाहिर निकाली सृष्टिको रक्षा गरे। यसैले यिनै वराह नै सबै हिन्दूहरूका प्रथम कुलदेवता मानिन्छन् र सृष्टिको कालगणनामा अहिले चलिरहेको कल्प श्वेतवराह कल्प समेत उनकै नामबाट कायम भएको छ।
भण्डारी र अन्य विभिन्न थरका धनञ्जय गोत्रीहरूले देवाली र कुलपूजामा क्षेत्रपाल र वराहलाई केन्द्रमा राखेर पूजा गर्नुको कारणमा पनि यही आदि कुलदेव प्रतिको परम्परागत आस्था देखिन्छ।
कुल-रक्षक देवता
अर्का कुलदेवता हुन् क्षेत्रपाल, जसलाई क्षेत्र विशेषका स्थानीय संरक्षक देवता भनेर बुझिन्छ। हरेक क्षेत्र वा भूखण्डका आफ्नै खास क्षेत्रपाल देवता हुने गर्छन् र क्षेत्रपाल शब्दको अर्थ नै स्थानीय क्षेत्रमा रही निकटबाट भक्तहरूको भूमि र पशुधनको रक्षागर्ने देवता भन्ने लाग्छ। उनको अर्को नाम भैरव पनि हो र शास्त्र अनुसार भैरव शिवकै अंशावतार पनि मानिन्छन्।
नेपालमा धनञ्जय गोत्रीय थरहरू
नेपालमा धनञ्जय गोत्र धेरै ब्राह्मण समूह समुदायको साझा गोत्र हो। यसभित्र रिजाल, हुमागाईं, मरासिनी, भुसाल, भण्डारी, बस्याल, खुलाल, गुरागाईं अनि त्यसैगरी वयल, बखरेल, पङ्गेनी, धमला, ढाँट, डुम्रे, घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू पाइएका छन्। कुलपूजा र देवालीमा समय व्यतिक्रम र स्थानगत दूरीको कारणले आएका सामान्य भिन्नता बाहेक उनीहरूको पूजा आजाको विधि विधान लगभग उस्तै पाइन्छ र उनीहरू एउटै निकट वंश परम्परामा जोडिएको बलियो सूत्र भेटिन्छ।
गोत्र ऋषि र प्रवर ऋषि
गोत्र चलाउने पहिलो ऋषिलाई गोत्र प्रवर्तक, गोत्रकार वा गोत्र ऋषि भनिन्छ। गोत्र चलाउने त्यस्ता ऋषिपछि उक्त गोत्रलाई वरण गर्ने, त्यसलाई अध्ययन र आचरणमा समृद्ध गर्दै सो गोत्रको वंश फैलाउने मुख्य ऋषि वा ऋषिहरू नै प्रवर ऋषि हुन्। एउटा गोत्रमा एकदेखि पाँचवटा सम्म प्रवर ऋषि भेटिन्छन्। भन्नाले गोत्रहरूमा एउटै मात्र, दुई, तीन वा पाँच प्रवर ऋषि पाइन सक्छन्। तर ४ प्रवर हुने गोत्र भने एउटा पनि भेटिन्न। धनञ्जय भित्र तीन प्रवर ऋषि छन् - विश्वामित्र, मधुच्छन्दसः र धनञ्जयेती - र सबै धनञ्जयीहरू त्रीप्रवर हुन्।
ब्रह्मर्षि विश्वामित्र गोत्रभित्र धेरै गोत्रगणहरू भई अलग विशिष्ट पहिचानको खाँचो पर्दा पछि कुनैसमय यसको एउटा शाखा विश्वामित्र कुलकै उनका नाती नाताका तथा मधुछन्दसका पुत्र ऋषि धनञ्जयको नामबाट कायम भई धनञ्जय गोत्र रहन गएको र विश्वामित्रको नाम गोत्र ऋषिमा नभई प्रवर ऋषिमा समेटिएको जस्तो देखिन्छ। यो अनुमान किनपनि सही ठहर्छ भने धनञ्जय सुरुका मूल ८ गोत्र ऋषिभित्र पर्दैनन्। यद्यपि यसको पुष्टिका लागि विद्वानहरूबाट थप अध्ययन हुनु आवश्यक छ।
गोत्र-प्रवरको महत्व/आवश्यकता
हिन्दू समुदायका सबै देव-पित्री कार्यमा सङ्कल्प पाठ देखि अनेक कुरामा गोत्र खुलाउनु पर्छ र त्यसको उल्लेख बिना अनुष्ठान अगाडि बढ्दैनन्। गोत्र प्रवरको सहायताले मात्र उनीहरूलाई आफ्नो कुल-वंश परम्पराको जानकारी मिल्दछ। गोत्र प्रणालीको पछाडि हजारौं वर्ष अघिका पुर्खाहरूको उन्नत वैज्ञानिक चेत पनि देखिन्छ। सगोत्रीय बीच विवाहले जातक शारीरिक-मानसिक रूपले कमजोर हुने वैज्ञानिक यथार्थ बुझेरै उनीहरूले सगोत्री छोडेर मात्र वैवाहिक सम्बन्ध जोड्न यस्तो अनिवार्य संहिताको विकास गरेका थिए। यसका अलावा आफ्ना बन्धुबान्धव बीच सद्भाव र एकता कायम गर्नेदेखि कुलायन पूजामा एकरूपता कायम गर्नमा पनि यो उत्तिकै उपयोगी हुन्छ।
सपिण्डी र अन्य बन्धु
हिन्दू विधि सिद्धान्त अनुसार रक्त सम्बन्धलाई दुई भागमा बाँडिन्छ। पहिलो वर्गमा पितातर्फको गोत्र अर्थात् आग्नेट बन्धुहरू पर्दछन्, जो सपिण्डी कहलिन्छन्। सपिण्डी ती व्यक्ति हुन् जो पितृपक्षका पूर्वज अथवा वंशजको एक अटुट श्रृङ्खलासँग संबन्धित हुन्छन्।
रक्त-संबन्धको दोस्रो वर्ग आमा तथा भगिनी अर्थात् कोग्नेट सम्बन्धद्वारा कायम हुन्छ। अन्य गोत्रीय या बन्धु मातृपक्षद्वारा संबन्धित भएपनि निकट रक्त सम्बन्धको कारणले हिन्दू विधि र परम्पराले हाफ ब्लड वा फुल ब्लड जे होउन् उनीहरूसँग पनि वैवाहिक नाता सम्बन्धको अनुमति दिँदैन। मनुस्मृतिले सातौं पुस्ताबाट सपिण्डी सम्बन्ध तटस्थ वा समाप्त हुन्छ भनेपनि सपिण्डी बीच विवाह जति पुस्ता बितेपनि विज्ञानसम्मत र उचित हुँदैन।
वर्णशङ्कर दोषबाट बच्न मातृ र पित्री रक्त सम्बन्ध भन्दा परको तेस्रो गोत्र वर्गसँग मात्र यो धार्मिक परम्परामा विवाहको प्रावधान छ।
धनञ्जय गोत्र: सूत्रबद्ध विवरण
१. गोत्र - धनञ्जय
२. गोत्र ऋषि - ऋषि धनञ्जय
३. प्रवर - त्रीप्रवर
४. प्रवर ऋषिहरू - क. विश्वामित्र ख. मधुच्छन्दसः र ग. धनञ्जयेती
५. वेद - ऋग्वेद
- धनञ्जय गोत्रको अध्ययनको मुख्यवेद ऋग्वेद हो। यही मानवजातिको ज्ञानको पहिलो ग्रन्थ पनि मानिएको छ।
६. उपवेद - आयुर्वेद
- हरेक वेदको शाखाको रूपमा विकास भएको वेदज्ञान नै उपवेद हो। प्रत्येक वेदको आफ्नै अलग उपवेद हुन्छ। ऋग्वेदको उपवेद आयुर्वेद हो।
७. शाखा - शाकल्य
- एउटा व्यक्तिलाई सिङ्गो वेद पढ्न र बुझ्न गाह्रो हुने अवस्थामा वेदको ज्ञानलाई बचाउन यसलाई शाखामा बाँडेर अध्ययन गर्ने पद्धति आएको हो। शाकल्य ऋग्वेदको एउटा त्यस्तै शाखा हो। ऋग्वेदका २१ शाखा मध्ये शाकल्य सहितका ५ शाखा बढी महत्वपूर्ण छन्।
८. सूत्र - आश्रलायन
- कठिन वेदलाई बुझ्न र स्मृतिमा राख्न सहायक आश्रलायन समेतका थुप्रै सूत्रहरू रचिएका छन्। यिनै सूत्रको माध्यमले वेदमा निहित गुढ र गुह्यज्ञान सम्म पुग्न सकिन्छ।
९. छन्द - गायत्री आदि
- वैदिक मन्त्रहरूको मुख्य विशेषता लयात्मकता पनि हो। जुन लय वा भाकामा ऋचा गाइन्छ त्यसैलाई छन्द भनिन्छ। तर वैदिक छन्दहरू साधारण साहित्यका छन्द भन्दा अलि फरक छन्। ऋग्वेदका २०० बढी छन्दमा गायत्री, उष्णिक, अनुष्टुप, वृहती, पंक्ति, त्रिष्टुप, जगती, ककुम् आदि १५ मुख्य हुन्।
१०. शिखा - वाम / बायाँ - आफ्नो कुल परम्परा अनुरूप शिखा अर्थात् टुप्पीलाई कता फर्काएर बाँध्ने भन्ने पनि विधान पाइन्छ।
११. पाद - वाम / बायाँ - यस गोत्रभित्र ब्राह्मणहरूले स्नानादि कर्म गर्दा पहिले दाहिने होइन, बायाँ खुट्टा पखाल्ने नियम छ।
१२. देवता - शिव - प्रत्येक वेद र शाखाको पठन पाठनमा कुनै खास देवतालाई मन्त्रहरूको आराध्य देव मानेर पढ्ने पद्धति छ। वशु, रुद्र, आदित्य, इन्द्र र प्रजापति समेतका ऋग्वेदका ३० भन्दा बढी देवतामा रुद्र अथवा शिव नै धनञ्जयीहरूका प्रमुख मन्त्र देवता मानिन्छन्।
१३. द्वार - यज्ञ मण्डपमा यजमान कुन दिशा अथवा द्वारबाट पस्ने र कुन दिशा/कोणमा बसेर यज्ञ सम्पन्न गर्ने भन्ने पनि शास्त्रोक्त नियम छ।
देवाली - कुलपूजा
सबै गोत्रमा नियमितरूपले कुलपूजा र देवाली गर्ने गरिन्छ। सगोत्री बन्धुहरू एक ठाउँमा भेला भई आफ्ना कुलदेवताको पूजा गर्ने, पुर्खाहरूप्रति श्रद्धा सहित सबै बन्धुबान्धव र समाजको सुख, शान्ति र समृद्धिकोलागि शास्त्रीय विधि अनुसार कुलपूजा हुन्छ। यसलाई ठाउँ अनुसार धार दिएको पनि भन्ने गरिन्छ र यस्तो कुलपूजा केही महिना वा वर्षको अन्तरालमा र देवाली भने वार्षिक, द्वैवार्षिक वा त्रैवार्षिक तालिका बमोजिम बलि समेत चढाई गर्ने गरिन्छ।
धनञ्जय ऋषि को थिए?
उनी ऋग्वेदका कैयौं महत्वपूर्ण ऋचा र शुक्तहरूका मन्त्रद्रष्टा ठूला ऋषि भएकोमा विवाद छैन। ऋग्वेदको मण्डल १ का १९१ शुक्त र मण्डल ३ का ६२ शुक्तहरूका मन्त्रद्रष्टा ऋषिहरू मध्ये महर्षि विश्वामित्र सहित उनकै वंशज मधुछन्दस र धनञ्जय ऋषिहरूका समेत थुप्रो शुक्त-मन्त्र समावेश छन्। तर उनको वंश परिवारको पहिचानमा भने सबैमा मतैक्य देखिन्न। कसैले उनलाई ब्रह्मर्षि वशिष्टको कुलमा जन्मेको भन्छन् भने कसैले उनलाई मन्त्रद्रष्टा राजर्षि विश्वामित्र पुत्र मान्दछन्, तर यी दुवै तर्क कतैबाट स्वतन्त्र पुष्टि हुँदैनन्।
खोज्दै जाँदा
वशिष्ठको साङ्गो पाङ्ग जानकारी दिने वायु, ब्रह्माण्ड र लिङ्ग पुराण केलाउँदा पनि उनका पुत्रहरूमा धनञ्जयको नाम कतै पाइन्न। बरु कर्दम ऋषि पुत्री अरुन्धती र प्रजापति दक्ष पुत्री ऊर्जाबाट उनका शक्ति, परासर र महर्षि व्यास जस्ता छोरा नातीहरूको मात्र नामावली फेला पर्दछ।
उता ब्रह्मगायत्री मन्त्रका द्रष्टा विश्वामित्रका १०० भाइ छोराहरू वशिष्ठद्वारा भष्म भएर मारिएका थिए। ती सय भाइहरू मध्ये पनि धनञ्जयको नाम कतै उल्लेख छैन। बरु गोत्र प्रवर नामावलीको क्रम हेर्दा पनि विश्वामित्रले वरण गरेका पुत्र मधुछन्दसका दुई छोराहरू कौडिण्य र धनञ्जय मध्येका धनञ्जय नै गोत्र ऋषि हुन् भन्ने आधार बलियो छ।
भिन्न मत
तर सँगसँगै पुराणमा चर्चित अर्को एउटा प्रसङ्ग पनि यहाँ उल्लेख गर्नु अप्रासङ्गिक नहोला। द्वापर युगको अन्ततिर द्वारिकामा एउटा अग्नीहोत्री ब्राह्मणका जति छोरा जन्मिए ती सबै मरेर सकिए। निसन्तान हुन पुगेको उक्त ब्राह्मण हरेक पटक आफ्नो छोरा मर्दा मथुरा नरेश उग्रसेनको दरबारमा गई रोइकराइ गर्थ्यो र राजाको पापाचारले गर्दा उसलाई त्यो नियति भोग्नु परेको भन्दै आक्रोश पोख्थ्यो। (त्यसबखत मथुरा नरेश उग्रसेन द्वारिका लगायत सबै यादव राजा र राज्यका सर्वोच्च सम्राट थिए)
एकपटक ब्राह्मणको त्यस्तो आर्तनाद सर्वश्रेष्ठ धनुर्धर अर्जुनले समेत सुने र अब आइन्दा उसका पुत्रहरूको संरक्षण आफूले गर्ने र त्यसो गर्न नसके आफूले अग्नी समाधि लिने भीषण प्रतिज्ञा गरे। तथापि अर्जुनको प्रतिज्ञा र प्रयासको बाबजुद सो ब्राह्मणको नवजात शिशुको मृत्यु भइछाड्यो र अर्जुनले रोक्न सकेनन्।
आफू असफल भएपछि अर्जुनले प्रतिज्ञा बमोजिम अग्नी समाधि लिएर प्राण त्याग गर्न लागेको अवस्थामा द्वारकाधीश कृष्ण यमलोक गई उक्त ब्राह्मणका सबै मृतशिशुलाई ठूलो प्रयत्नले जीवितै फिर्ता ल्याइदिए। तब अर्जुनले सो पछिल्लो बालकको नाम श्रीकृष्णकै नामबाट "कृष्णानन्द" राखे र योगेश्वर कृष्णले पनि उक्त बच्चाको नामाकरण अर्जुनकै नामबाट "धनञ्जय" राखिदिए। (स्मरण रहोस् - पुराण अनुसार एकपटक कुन्तिपुत्र अर्जुनले सारा संसारमाथि विजय पाई अगणित धन-सम्पदा जितेको हुनाले अर्जुनलाई धनञ्जय भन्ने उपनाम मिलेको थियो) यी बालकलाई महर्षि गर्गद्वारा नामाकरण संस्कार सम्पन्न भई स्वयं श्रीकृष्णलाई शिक्षा दिने ऋषि संदीपनीद्वारा नै शिक्षादीक्षा र वैदिक संस्कारमा प्रवृत्त गराइयो। केही लेखकहरूले यिनै धनञ्जय पनि गोत्र ऋषि हुनसक्ने संभावना औंल्याएका छन्।
पौराणिक बेमेल / द्विविधा
पुराणहरूमा यसरी नामहरू दोहोरिनु फरक पर्नु आश्चर्य होइन। यसमा धेरै कारण छन्। महर्षि वशिष्ठकै उदाहरण लिने हो भने पनि एउटा वशिष्ठ सृष्टिको आदिकालमा मानसपुत्रको रूपमा अजन्मा आए। दोस्रा इच्छ्वाकुवंशी त्रीशङ्कुको कालमा, तेस्रा राजा हरिश्चन्द्रको पालामा, चौथा राजा दिलीपको शासन कालमा, पाँचौ त्रेताका राजा दशरथको समयमा र छैठौं महाभारत कालमा पनि आएको पढ्न पाइन्छ। पुराणमा खोजिपस्दा यस्ता १२ वटा ऋषि वशिष्ठ भेटिन्छन् भन्ने सुनिएको छ। ती सबै एउटै ऋषिका समयान्तरका भिन्न प्राकट्य हुन् कि सबै अलग हुन् स्पष्ट छैन।
बढी संभाव्य
सरसर्ती हेर्दा, धनञ्जय गोत्रका गोत्र ऋषि धनञ्जय महर्षि विश्वामित्रका नाती हुनुपर्छ। तर पौराणिक पात्र र घटनाक्रम तथ्याङ्क शास्त्र जस्तो ब्ल्याक एण्ड ह्वाइट हुँदैनन्। धनञ्जय नामका थप अरु पनि कोही ऋषि थिए वा थिएनन् देखि लिएर गोत्र ऋषि धनञ्जय खासमा कुन हुन् - श्रुती, स्मृति, पुराण र ग्रन्थहरूबाट यसको प्रामाणिक र अकाट्य ढङ्गले थप पुष्ट्याइँ जरुरी छ।
अन्तिम टिप्पणी
यस विषयमा रुचि राख्नेहरूलाई एउटा आग्रह छ - सबैले अध्ययन गरून् र आफ्नो प्राप्तिलाई साझा गरी यस कुल परम्पराको जानकारीलाई अगाडि बढाउन हातेमालो गरून्।
(पुनश्च: यसलाई अध्ययनका लागि प्रारम्भिक वा प्रस्थान बिन्दुको रूपमा ल्याइएकोले पाद टिप्पणी र सन्दर्भ स्रोत खोल्नथाल्दा एउटै लेखोट निकै लामो हुनेहुँदा त्यसो गर्न संभव भएन। पछि अझ खोजबिन पछि कुनैदिन ठूलो आकारमा ल्याइयो भने मात्र संभव होला।)
Comments
Post a Comment